आत्मविश्वास

यो संसारमा कोही पनि यस्तो व्यक्ति छैन जस्ले आफ्नो साहस र आत्मविश्वास बढाउन नचाहेको होस । आफूले आफैलाई विश्वास गर्नु हो आत्मविश्वास भनेको । आत्मविश्वास र साहस बढाउन हामी सबै चाहन्छौ । हाम्रो अबचेतन मनमा त्यो चाहना रहेको हुन्छ । किनकि हामी सबैलाई थाहा छ, सबै प्रकारका प्रतिकुल परिस्थिति, घटना र चुनौतिहरूसंग लड्न हामीलाई आत्मविश्वास र साहस चाहिन्छ ।

हरेक व्यक्ति साहसिलो र आत्मविश्वासिलो बन्न चाहन्छ तर विभिन्न कारणले गर्दा बन्न सकिरहेको हुँदैन । हामी अरुलाई त राम्रोसंग विश्वास गर्छौ र गरिरहेका पनि हुन्छौं तर आफूलाई विश्वास धेरै कम मानिसहरुले मात्र गरेका हुन्छन् । जस्ले आफूलाई विश्वास गरेका हुन्छन् त्यस्ता व्यक्ति नै सफल र समृद्ध भएका छन् ।

अरुलाई विश्वास गर्ने कुरा हामीलाई राम्रोसंग थाहा छ । म त्यो मानिसलाई विश्वास गर्छु, म भगवानलाई विश्वास गर्छु, यस्तो कुरा हामी भनिरहेका हुन्छौं । आफूभन्दा बाहिरका सबैप्रति विश्वास हुन्छ तर जब आफैप्रति पूर्णरूपमा विश्वास गर्ने कुरा आउंछ तब आत्मविश्वासको कुरा आउंछ ।

जब आफूप्रति विश्वास बढ्छ तब साहस र आँट पनि स्वतः बढेर आउंछ । के हामीले आफूलाई पूर्णरूपमा विश्वास गर्छौ ? किन कम हुन्छ आत्मविश्वास ? आफूलाई विश्वास गर्न र साहस बढाउन के गर्नु पर्ला ? यो हाम्रो आजको चिन्तनको विषय हो ।

आफूलाई विश्वास नगरिकन मानिस जीवनमा धेरै अगाडी बढ्न सक्दैन । भौतिक जगतमा सफल र समृद्ध हुन सक्दैन र अध्यात्ममा पनि अगाडी बढ्न सक्दैंन । सबै कुरामा पर निर्भर भएको मानिस बन्धनले बाँधिएको पशु जस्तो हुन्छ र शारीरिक र मानसिक रूपमा पनि अपाङ्ग जस्तै हुन्छ । म आफूलाई कत्तिको भर गर्न सक्छु, म भित्र आत्मबल, साहस र शक्ति कति छ भनेर जान्नका लागि आफूलाई जाँच्नुपर्छ, आफूतिर फर्केर हेर्नु पर्छ ।

आत्मविश्वास र साहसको कुरा गर्दा मलाई एउटा कथा याद आयो । एउटा गाउँमा बालबालिकाहरुले के गर्न सक्छन् ? को संग कति साहस, आँट र आत्मविश्वास छ ? भनेर हेर्नका लागि एउटा प्रतियोगिताको आयोजना गरियो र गाउँका दशदेखि बाह्र वर्ष उमेर समूहका पचास जना बालबालिकाहरूलाई एउटा अग्लो र हेर्दा चढ्न असम्भव जस्तो लाग्ने पहाड तिन दिन लगाएर चढ्न लगाइयो । त्यो पहाड चढ्नका लागि दुई ठाउँमा वेसक्याम्प पनि बनाईएको थियो र प्रत्येक वेसक्याम्पमा उनिहरूले एक रात विश्राम गर्न पाउथे । बालबालिकाको मनोबल बढाउनका लागि राम्रो पुरस्कारको पनि व्यस्था गरिएको थियो ।

पहाड चढ्ने वेसक्याम्पहरूमा बालबालिकाहरूले पहाड चढेको हेर्नका लागि उनिहरूका परिवारका सदस्य र आफन्तहरू पनि गएर बसेका थिए । पहिलो वेसक्याम्पसम्म सबै जना बालबालिकाहरू पुग्न सफल भए । पहिलो वेसक्याम्पसम्म पुग्दा बालबालिकाहरू थाकेर हिड्न नसक्ने जस्ता भएका थिए । उनिहरूका परिवार र आफन्तले बालकालिकाहरू थाकेको र पसिना-पसिना भएको देखेर ‘अब तिमीहरु हिड्न सक्दैनौ, पुग्नु पर्ने ठाउँ धेरै टाडा छ र धेरै अग्लो छ, तिमीहरु थाकिसक्यौं, तिमीहरुबाट त्यो असम्भव छ’ भन्ने जस्ता नकारात्मक कुराहरु बारम्बार सुनाए ।

प्रायःजयो सबैका घरमा, परिवारका सदस्य र आफन्तहरुले बालबालिकाहरुलाई त्यसै कुरा बारम्बार भन्ने गरेको सुनिन्छ । तिमी यस्तो गर्न सक्दैनौं, तिमीबाट यो काम हुन सक्दैन, तिम्रा लागि त्यो असम्भव कुरा हो आदि । मानिसका लागि आत्मविश्वास, साहस र आँट घटाउने यो पनि एउटा मूख्य कारक तत्व बन्दछ र पछि गएर मानिसले अरुको सहयोग बिना जीवनमा आफूले केही पनि गर्न नसक्ने बन्दछ ।

पहिलो वेसक्याम्पमा पुगेका बालबालिकाहरू मध्ये भोलिपल्ट बिहान उठेर पच्चिस जना बालबालिकाहरू मात्र अगाडीको दोश्रो वेसक्याम्पसम्म जाने आँट र साहस गरे । दोश्रो वेसक्याम्पबाट, मात्र एक जना, त्यो पनि धेरै बल नभएकी र प्रतियोगी मध्ये सबैभन्दा कम उमेरकि बालिका, पहाडको माथि चढ्ने आँट र साहस गरिन र पुग्न पनि सफल भइन् ।

प्रतियोगितामा सफल भएकी बालिकालाई पुरस्कार दिने बेलामा यो कुरा थाहा लाग्यो कि, ति बालिका कान नसुन्ने श्रवणविहिन पो रहिछन् र उनका परिवारका सदस्य र आफन्तहरू कोहि पनि वेसक्याम्पमा गएर बसेका रहेनछन् । बालिकाले अरुले भनेको नकारात्मक कुराहरु सनेकै थिइनन् र उनिभित्र रहेको आत्मविश्वास, साहस र आँट कत्तिपनि घट्न पाएको थिएन ।

त्यसकारणले उनि सबैभन्दा सानी र धेरै बल नभएकी भए पनि पहाड चढ्न सफल भइन । यो कथाले हामीलाई के सन्देश दिन्छ भने, हामी भित्र नकारात्मक कुराहरु पस्न थाल्यो र त्यसलाई हामीले विश्वास गर्न थाल्यौं भने हाम्रो मनले जीवनमा केही गर्ने साहस, आँट र आत्मविश्वास पनि गुमाउंदै जान्छ ।

यो संसारका सबै मानिसहरूसंग जन्मिदै लिएर आएको अनन्त उर्जा, शक्ति र आत्मबल छ । सबै मानिसहरुले जस्तो काम पनि गर्न सक्छन् । आफूले चाहेमा जे पनि गर्न सकिन्छ र जस्तो पनि बन्न सकिन्छ । तर आफ्नो धारणा, सोचविचार र म यो काम गर्न सक्दिन भन्ने मनस्थितिले गर्दा मानिस केही पनि गर्न नसक्ने बन्दछ र आफूप्रति विश्वास पनि रहदैन । अरुका नकारात्मक कुराहरु सुन्ने र त्यसलाई विश्वास गर्ने बानिले गर्दा पनि मानिसको आत्मविश्वास र साहस घटिरहेको हुन्छ ।

अरुले तिमी विश्वासिलो छौं, शक्तिवान छौं, तिमी गर्न सक्छौं भनिदिएर मात्र पनि पुग्दैन । अरुले तिमी भित्र आँट र साहस छ भनिदिएर मात्र पनि पुग्दैन । आफूभित्र आत्मविश्वास र आँट भएको कुरा आफूले नै थाहा पाउनु पर्छ । आफूले आफैलाई कस्तो ठानिरहेकौ छौं, कमजोर कि शक्तिवान, त्यो कुरा थाहा पाउनु पर्छ ।

जीवनमा हरेक दिन केही न केही प्रतिकुल परिस्थिति, घटना र चुनौतिहरू आई नै रहन्छन् । यस्ता प्रतिकुल परिस्थिति, घटना र चुनौतिहरूको सामना गर्न म आफै सक्षम छु कि मलाई अरुको सहयोग चहिन्छ ? यदि सहयोग नभइकन आफैले केही पनि गर्न सकिदैन भने हाम्रो साहस र आत्मविश्वास हराई सकेको छ भन्ने कुरा थाहा लाग्छ । म भित्र आत्मविश्वास, साहस र आँट छैन भने किन छैन ? भनेर सोच्नु पर्छ र त्यो बढाउन के गर्ने भनेर त्यतातिर ध्यान दिनु पर्छ ।

शारीरिक रूपमा असक्त मानिसहरू पनि हिमाल चढेका छन, दृष्टिविहिनहरु पनि कस्तो-कस्तो ठाउँमा पुग्न सफल भएका र विश्वमा इतिहास रच्न सफल भएका उदाहरणहरु पनि छन् । मेरो आत्मविश्वास नहुनुको कारण के हो ? भनेर मनन् गनुपर्छ । अरुले गर्न सकिरहेका छन् भने मैले किन गर्न सक्दिन भनेर सोच्नु पर्छ ।

जस्ले आफूले आफैलाई ठग्ने गरेको छ, त्यस्तो व्यक्तिको आफूप्रतिको विश्वास अर्थात आत्मविश्वास, केही गर्ने साहस र आँट बिस्तारै हराउंदै जान्छ । भनिन्छ, ‘अरुलाई ठग्नु पाप हो भने आफैलाई ठग्नु महापाप हो’ । आफूले आफैलाई ठग्नु भनेको आफूले केहि गर्छु भनेर बोल्यो वा सोच बनायो अनि त्यो कुरा पुरा नगर्नु हो ।

जस्तै, म भोलि बिहान यति बजे उठ्छु भनेर सोच बनायो वा बोल्यो अनि बिहान भएपछि त्यो आफूले भनेको कुरा आफैले पुरा नगर्‍यो । यसरी आफूले गर्छु भनेर संकल्प गर्ने अनि पुरा नगर्ने हो भने बिस्तारै आफूले बोलेको र आँटेको काम पुरा गर्न सक्छु भन्ने विश्वास र साहस हराउंदै जान्छ । मेरो बिहान उठ्न सक्ने क्षमता प्रति भरोसा हराउंदै जान्छ र मानिस भन्न बाध्य हुन्छ, म त बिहान उठ्नै सक्दिन ।

जस्ले आफूले गर्छु भनेर बोलेका कुरामा महत्व दिंदैन, आफैले बोल्छ र आफैले पुरा गर्दैन, त्यो व्यक्तिले आफूलाई ठगी रहेको हुन्छ । आफ्नो भरोसा गुमाई रहेको हुन्छ र यस्तो व्यक्तिको आत्मविश्वास घटेर जान्छ । अरुले भनेको गर्ने तर आफूले भनेको नगर्ने भन्नु अरुको भरोसा गर्नु र आफ्नो भरोसा नगर्नु पनि हो ।

आफूले जे भन्छ त्यो पुरा गर्दै जाने मानिसको आत्मबल, आत्मविश्वास, आँट र सहास बढ्दै जान्छ । म आफूले बोलेको र सोच बनाएको हो त्यसकारणले यो काम पुरा हुन्छ भन्ने बनाउनु पर्छ । यसो गर्दा आफ्नो भरोसा बढ्दै जान्छ । आफ्नो बोलीप्रतिको दृढ़ता नै आत्मविश्वास बढाउने प्रमुख तत्व हो ।

जस्तोसुकै परिस्थिति र चुनौतिहरूमा आफूले साहस गरेर अगाडि बढ्ने गरियो भने बिस्तारै आफ्नो साहस र आत्मबल बढ्दै जान्छ र त्यस्ता चुनौतिहरू हामीलाई सानो लाग्छ । एउटा चुनौतिलाई आँट गरेर सामना गर्ने हो भने अब व्यक्ति साहसिलो हुँदै जान्छ । नेतृत्व गर्ने व्यक्तिको आत्मविश्वास बढ्दै जान्छ ।

प्राणायाम, जस्तै स्वासलाई नाभिसम्म लैजाने र नाभिबाट छोड्ने विधि र छोटो-छोटो स्वासलाई बाहिर वा भित्र रोक्ने कुम्भकका विधिले पनि साहस र आत्मबल बढाउंछ । कुम्भक अधिकतम् दश सेकेण्ड भन्दा लामो गर्नु हुँदैन । कुम्भकले मणिपुर चक्र सक्रिय बनाउंछ, जुन हाम्रो शरीरको साहसको केन्द्र हो । ध्यानको अभ्यास गर्ने हो भने पनि त्यसले आज्ञा चक्र सक्रिय बनाउंछ । यो आज्ञा चक्र हाम्रो सकल्पको केन्द्र हो र ध्यानले हाम्रो संकल्प शक्ति र संकल्प पुरा गर्ने साहस र आत्मविश्वास बढाउन सहयोग गर्छ । आजलाई यति नै, हरी ॐ!